Section 7
दर्ता गराउनु पर्ने

(१) “ख” श्रेणीको बिर्तावालले यो दफा लागू भएको १२० दिनभित्र आफ्नो बिर्ता जग्गाको देहाय बमोजिमको विवरण र बुझाउन बाँकी भूमिकर वा मालपोत स्थानीय माल अड्डामा र माल अड्डा खारेज भएको ठाउँमा भूमि प्रशासन कार्यालयमा दाखिल गरी दर्ता गराउनु पर्छ र बाँकी भूमिकर वा मालपोत दाखिल भएपछि माल अड्डा वा भूमि प्रशासन कार्यालयले सो बमोजिम विवरण दाखिला भएको निस्सा दिई त्यस्तो जग्गा निजको नाउँमा आफ्नो श्रेस्ता तथा जग्गा नाप जाँचको मूठ लगतमा समेत दर्ता गरिदिनु पर्छ ।
(क) बिर्ता जग्गाको क्षेत्रफल (बिगाहा रोपनी इत्यादि) त्यस्तो खुलेको श्रेस्ता नभएमा अन्दाजी क्षेत्रफल र थाहा भएमा जग्गाको चौहदी पनि,
(ख) नेपाल सरकारबाट जग्गा नाप जाँच गराइएकोमा सो नापीबाट तोकिएको मालपोत वा भूमिकरको अङ्क आवादी जग्गा बिर्ता पाएकोमा सो पाउँदा तोकिएको बिर्ता जग्गाको मालपोत अङ्क,
(ग) जग्गा कमाउने व्यक्तिहरूको नाम र निजहरूले कमाएको जग्गाको क्षेत्रफल र प्रत्येकले बिर्तावाललाई तिर्नु पर्ने कूत तिरो,
(घ) नेपाल सरकारले तोकेको अरू कुनै कुरा ।
(२) “क” श्रेणीका बिर्ता जग्गाका बिर्तावाल वा कुनै बिर्ता जग्गाको काम गर्ने बिर्तावाल भए त्यस मालको तत्काल काम गर्ने कामदार कारिन्दा (इन्चार्ज) र बिर्तावाल साधारणतया नेपाल बाहिर बस्ने गरेको भए निजको बिर्ता रेखदेख वा दामकाम गर्ने व्यक्तिको पनि उपदफा (१) बमोजिम विवरण सहितको आवश्यक कागजपत्र इलाका माल अड्डामा दाखिल गर्नु पर्ने कर्तव्य हुनेछ ।
(३) कुनै बिर्ताको सम्बन्धमा उपदफा (१) वा (२) बमोजिम दाखिल गर्नुपर्ने विवरण दाखिल नगरेमा वा दाखिल गरेपनि जानी जानी खासखास कुरा फरक पारी दाखिल गरेको ठहरिन आएमा उपदफा (१) वा (२) बमोजिम त्यस्तो विवरण दाखिल गर्नु पर्ने कर्तव्य भएका प्रत्येक व्यक्तिलाई १०००।– सम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय इलाका माल अड्डाको हाकिमबाट हुनसक्नेछ ।
(४) … … …
(५) उपदफा (३) अन्तर्गतको सजायको आदेश उपर सम्बन्धित राजस्व न्यायाधीकरणमा पुनरावेदन लाग्न सक्नेछ ।
(६) यो ऐनबमोजिम “ख” श्रेणीको बिर्ताजग्गा उन्मूलन भै रैकरमा परिणत गरिएको जग्गाको जग्गावाला वा मोहीले आफ्नो जग्गाको नापी गराउन चाहेमा भूमिकरको सयकडा १० का दरले ५ वर्षसम्म नापी खर्च बुझाउने शर्त गरी कागज गरे अनुकूल पर्ने नपर्ने हेरी इलाका माल अड्डाले प्लेन टेबुल सर्भे गराउने व्यवस्था गर्न सक्नेछ ।